मध्यरातमा
सधैं जसो आज पनि उनलाई खोज्दै थिए , पहिला जस्तै गरी ओनलाइन आएर स्टाटस छोडेर म्यासेज नगरी जाने उनको बानि परिसकेको थियो ।
म भने उ मेरै हो अझैपनि मलाई प्रेम गर्छिन भन्ने भ्रमबाट कैले मुक्त हुन सकेन ! या भनौँ उसलाई मुक्त गर्दा बित्तिकै अर्को मान्छेको आगमन लाइ स्विकार्न पर्छ भनेर हो कैले भुल्न चाहेन !
समय बित्दै गयो महङ्गी बढ्दै गयो तलब बढ्दै गयो इच्छा चाहना भने उहि थियो केबल तिम्रो पर्खाइ । साथिभाईहरुले विवाह गरिसकेे बाकि कोही थिएनन कसै कसैका पाँच सात वर्षका छोराछोरी हुर्किसकेका थिए ।
सायद तिमि मेरो जिन्दगीमा नआइदिएको भए मेरो पनि सानो परिवार भइसक्ने थियो होला है ? विवाह छोराछोरीको इच्छा चाहना पनि बिस्तारै हराउदै गयो कि के हो ? घरि-घरि आफुलाई प्रश्न गर्छु ।
तिम्रो फर्किने आशा अपेक्षाले गर्दा पनि हुनसक्छ ! खै यतिका वर्षसम्म नफर्किएकी तिमि अब फर्किने पो हौ कि भन्ने आशाले मातेको हुन्छु घरिघरि ।
चुरोट तान्दै गर्दा उडिरहेको त्यो धुवाँ जसरी म आफुलाई नि त्यो संसारमा किन घुलमिल गर्न सकिन ? अचम्म लाग्छ कुनै दिन यि सबैको उत्तर तिमिले नै दिनुपर्छ है ! तयार छौ नि !
जति समय तिमिलाई माया गर्न लाग्यो त्यो भन्दा हजार गुणा बढि समय भुल्न लाग्दोरहेछ , मेरो यो मानसपटलमा बसेको तिम्रो लागि त्यो माया कैले कम भएन ।
कुराकानी भेटघाट बढी टाढिदै गयो म उति तिम्रो नजिक नजिकै हुदै गएको महसुस गरिरहेको हुन्छु । सायद कतै म मानसिक रोगी बनेको त छैन ?
मानसिक रोगी पनि कसरी भनौ आफुलाई सधैं बिहान उठेर काम गरिरहेको हुन्छु साझ उहि समय फर्केर आउछु । काममा कुनै कमि भएको कम्जोरी आज सम्म कैले देखिएन।
एकपटक त कर्मचारी अफ दि इयरको उपाधि पनि पाएको छु त्यो को भिड कै बेलामा हो ।
याद छ तिमिलाई उ बेला काम आयो भन्दै हत्तपत्त म फोन काटेर भाग्ने गर्थे ! आजकल म ग्रुप हेड भएको छु मेरो अन्डरमा पाँच सात जना काम गर्ने मान्छे छन् ।
आजकल तिमि भइदिएको भए हत्तपत्त फोन काटेर लुकाउन पर्ने अवस्था आउने थिएँन , तिमिले भने जति समय मैले दिनेे थिए । तिम्रो फुर्सद नहुदाँ पनि पटकपटक कल गरेर सताउने थिएँ । वाक्क दिक्क लाग्थ्यो होला है तिमिलाई ?
ढिला भइसकेछ सुत्नुपर्छ अब , सुत है तिमि पनि । ए अ साच्चै तिमि त कल्पनामा अरु सङ्गै निदाएको छौ नि है ! म जसरी रातिको दुइ बजेसम्म बसेर कसैको लागि लेख्ने फुर्सद कहाँ छ र तिमिलाई !!